नवौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

काठमाडौँ – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ गतेदेखि सुरु हुने भएको छ। पुस २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पाँच वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब तथा एभरेस्ट भलिबल क्लब सहभागी हुने जानकारी दिनुभयो। नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ, उपविजेता टोलीले दुई लाख ५० हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित ‘शेरबहादुर खड्का स्पेशल अवार्ड’ प्रदान गरी सम्मान गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्