काठमाडौँ । यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, गुर्जुधारा काठमाडौँ तथा काठमाडौँस्थित ट्रायल सेन्टर दक्षिणढोका लगायतका क्षेत्रबाट १४ जना बिचौलिया पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले यातायातसम्बन्धी काम छिटो गराइदिने प्रलोभन देखाउँदै सेवाग्राहीलाई दुःख–हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीको नियमित कामकारबाहीमा समेत प्रभाव पार्दै आएका थिए।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका झमकलाल श्रेष्ठ, दीपा कटुवाल र दिवस लामा, काभ्रेका अनिमेष अवा, सन्तोष स्याङतान र दिलिप खड्गी, दोलखाका बासु खड्का, झापाका भीमबहादुर नेम्वाङ, काठमाडौँका प्रदीप श्रेष्ठ, शर्मिला चौलागाईं र रञ्जित महर्जन, पर्वतका दुर्गाप्रसाद न्यौपाने, नवलपरासी पूर्वका अर्जुन चौधरी तथा सुनसरीका सरोज ढुङ्गाना रहेका छन्।
अनुसन्धानका क्रममा उनीहरूले लिखित तथा ट्रायल परीक्षामा फेल भएकाहरूलाई कर्मचारीसँग चिनजान रहेको भन्दै पास गराइदिने प्रलोभन देखाएर प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म लिने गरेको खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, लाइसेन्स प्रिन्ट, ब्लुबुक नवीकरण लगायतका कागजात सहज तरिकाबाट गरिदिने भन्दै अतिरिक्त रकम असुल्ने, मेडिकल फेल भएकाहरूलाई समेत पास गराइदिने भन्दै थप रकम लिने कार्यमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।






