काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । उक्त सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेकपाका नेता सन्तोष पनेरुले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको करिब एक वर्षे कार्यकाल बाँकी रहँदै दाहालले राजीनामा दिएर संघीय निर्वाचनमा होमिने तयारी गरेको जनाइएको छ ।
उम्मेदवार सिफारिस बैठकमा स्वयं उपस्थित दाहालले भरतपुर महानगरपालिकामा झन्डै ९ वर्ष काम गरेको अनुभव र जनताको अपार मायालाई साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् । उनले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार स्वीकार गर्न समेत तयार भएको कठिन परिस्थिति सामना गरिसकेको उल्लेख गर्दै चितवन–३ का जनताले आफूलाई विश्वास गर्ने विश्वास व्यक्त गरिन् ।
दाहालले भरतपुर र माडी क्षेत्रका जनताबाट सधैं माया र साथ पाइरहेको भन्दै आफ्नो सिंगो जीवन जनताको सेवामा समर्पित रहेको बताइन् ।
चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिका तथा भरतपुर महानगरपालिकाका १९ वटा वडा पर्दछन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट रेनु दाहालका पिता तथा तत्कालीन एकीकृत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।
२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसबाट विद्रोह गरी एमालेको समर्थनमा ‘माछा’ चुनाव चिह्न लिएर चुनाव लडेका दिनेश कोइराला पनि पराजित भएका थिए ।






