काठमाडौँ – बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको पहल र लगानीमा थाहा नगरपालिका–९, चित्लाङस्थित ऐतिहासिक चन्द्रागिरि भञ्ज्याङमा निर्माण गरिएको भ्यु टावर आज औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रदेशको पर्यटन पूर्वाधार विस्तारतर्फ एक महत्वपूर्ण उपलब्धिका रूपमा रहेको उक्त भ्यु टावरको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको हो।
संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले दीर्घकालीन सोचका साथ पर्यटन पूर्वाधारमा लगानी गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले भ्यु टावर सञ्चालनमा आएपछि थाहा नगरपालिका मात्र होइन, समग्र मकवानपुर क्षेत्रको पर्यटकीय आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठले बागमती प्रदेशलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। उहाँले चित्लाङ क्षेत्रको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै यहाँको पर्यटन प्रवर्द्धनका लागि थप कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले पनि मन्त्रालयको दृष्टिकोण स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “प्रदेशको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई आर्थिक मूल्यमा रूपान्तरण गर्न पर्यटन पूर्वाधार अत्यन्त आवश्यक छ। चित्लाङ भ्यु टावर केवल संरचना होइन, स्थानीय विकाससँग जोडिएको परियोजना हो। मन्त्रालयले यस्ता परियोजनामा स्थानीय तहसँग सहकार्य गर्दै दिगो सञ्चालनलाई प्राथमिकतामा राखेको छ।”
पर्यटन विकास आयोजना, हेटौंडाद्वारा निर्माण सम्पन्न भ्यु टावरको संरचना गत मंसिर २४ गते थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच सञ्चालनसम्बन्धी आवश्यक सम्झौता सम्पन्न भएसँगै आजबाट औपचारिक सञ्चालनमा ल्याइएको हो। सम्झौताअनुसार भ्यु टावर सञ्चालनबाट प्राप्त राजश्वको निश्चित हिस्सा बागमती प्रदेश सरकारलाई प्राप्त हुनेछ।
बागमती प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम (२०७६–२०७८)’ अन्तर्गत उक्त भ्यु टावर निर्माण अघि बढाएको हो। परियोजनाअन्तर्गत भ्यु टावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउसलगायत आवश्यक सहायक संरचनाहरू समेत निर्माण गरिएको छ। दुई चरणमा मूल्य समायोजनसहित कुल ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ लागतमा परियोजना सम्पन्न भएको जनाइएको छ।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको नेतृत्वमा अघि बढाइएको यस प्रकारका पूर्वाधार परियोजनाले बागमती प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। मन्त्रालयका अनुसार २०७६ सालदेखि हालसम्म बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा गरी ९ जिल्लामा ११ वटा भ्यु टावर निर्माण भइसकेका छन्।
प्रदेश सरकारले प्राकृतिक दृश्यावलोकन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत यस्ता परियोजनाहरूलाई निरन्तरता दिने जनाएको छ।






