नेशनल प्याब्सन क्रिकेट लिग सम्पन्न, उपाधी प्रोग्रेशिभ स्कुललाई

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिद्वारा आयोजना गरिएको “नेशनल प्याब्सन क्रिकेट लिग (NPCL)–२०८२” आज औपचारिक रूपमा सम्पन्न भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा आयोजित प्रतियोगितामा देशभरका नेशनल प्याब्सन आवद्ध विद्यालयका प्रतिनिधि, पदाधिकारी तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पौष ६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भएको हो। फाइनलमा पाणिनी स्कुल र प्रोग्रेशिभ स्कुलबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा प्रोग्रेशिभ स्कुल प्रतियोगिताको विजेता बनेको छ।

विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी र मेडल वितरण गरिएको आयोजकले जनाएको छ। नेशनल प्याब्सन केन्द्रीय समितिका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख विष्णु पराजुलीका अनुसार प्रतियोगिताको संयोजक श्याम योन्जन रहनुभएको थियो।

आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शैक्षिक र सह–पाठ्यक्रम गतिविधिबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले खेलकुद विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको बताउनुभयो। उहाँले शिक्षा कक्षाकोठामा मात्र सीमित नहुने उल्लेख गर्दै खेलकुदले अनुशासन, नेतृत्व, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने धारणा राख्नुभयो। शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले नेशनल प्याब्सनले यस्ता राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्दै आएको उहाँको भनाइ थियो।

नेशनल प्याब्सन क्रिकेट लिगले विद्यालयस्तरको क्रिकेटलाई संस्थागत गर्न र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याउने विश्वास पनि अध्यक्ष न्यौपानेले व्यक्त गर्नुभयो। साथै, सहभागी सबै टोलीलाई अनुशासन र खेल भावना कायम राख्दै प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्