काठमाडौं – राहदानी विभागले अब दुई दिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । विभागका अनुसार कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ र आवश्यक परेका सेवाग्राहीलाई तत्कालै राहदानी उपलब्ध गराइनेछ । यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको पर्याप्त आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएका सेवाग्राहीलाई राहदानी वितरण गर्ने जनाएको छ ।
विभागका अनुसार गएको मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीले यही पुस १५ गतेसम्म नयाँ राहदानी प्राप्त गर्नेछन् । त्यसपछि आवेदन दिएका सेवाग्राहीलाई क्रमशः राहदानी उपलब्ध गराइनेछ । अन्तरिम अवधिका लागि आवश्यक मात्रामा राहदानी पुस्तिका उपलब्ध भइसकेकाले अब राहदानी वितरण प्रक्रिया सहज र छिटो हुने विभागले विश्वास व्यक्त गरेको छ ।






