अपीहिमालमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव मावि घुसालाई

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा आयोजित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव माध्यमिक विद्यालय घुसाले जितेको छ। मंगलबार वडा नं. ४ स्थित सम्तेलीचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा घुसाले १३ स्वर्ण, ९ रजत र ३ कास्य गरी कुल २५ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगितामा भवानी माध्यमिक विद्यालय सौगन्ना दोस्रो भएको छ। सो विद्यालयले ११ स्वर्ण, १० रजत र ६ कास्य गरी २७ पदक जितेको छ। यस्तै, खण्डेश्वरी माध्यमिक विद्यालय क्षेत्ती तेस्रो हुँदै ५ स्वर्ण, ८ रजत र १४ कास्य गरी २७ पदक प्राप्त गरेको छ। छिपुलकेदार माध्यमिक विद्यालय धंकले सान्त्वना स्थान हासिल गर्दै २ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल १२ पदक जितेको छ।

प्रतियोगितामा विजेता तथा सहभागी विद्यालयका टोलीलाई पुरस्कार, शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। यही पौष ६ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।

१८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी र एथ्लेटिक्सका विभिन्न विधा सञ्चालन गरिएका थिए। एथ्लेटिक्स अन्तर्गत १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड, ४×१ सय र ४×४ सय मिटर रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुट प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत मदनराज जोशीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्