राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्रीसहित तीन प्रमुख दलका शीर्ष नेताबीच भएको छलफल सम्पन्न

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशिला कार्कीसहित तीन प्रमुख दलका शीर्ष नेताबीच भएको छलफल सम्पन्न भएको छ। शीतल निवासमा भएको बैठकमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।

छलफलका क्रममा राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुको विकल्प नरहेको स्पष्ट पार्दै निर्वाचन अनुकूल वातावरण निर्माण गर्न तीन दलका शीर्ष नेताहरूसँग आग्रह गर्नुभएको राष्ट्रपति सचिवालयले जनाएको छ।

बैठकमा निर्वाचन सफल बनाउने विषयमा सहमति खोज्ने प्रयास स्वरूप प्रधानमन्त्री सुशिला कार्कीसँग शीर्ष दलका नेताहरूले बालुवाटारमा थप छलफल गर्ने समझदारीसमेत बनेको छ।

फागुन २१ को निर्वाचन मिति नजिकिँदै जाँदा प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित अदालत पुगेको सन्दर्भमा राष्ट्रपति सक्रिय बनेर यो छलफल आयोजना गरिएको हो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीले तीन प्रमुख दलका शीर्ष नेताहरूसँग एकै पटक गरेको यो पहिलो औपचारिक भेटवार्ता हो। छलफललाई आगामी राजनीतिक निकासतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्