सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
कमलामाई नगरपालिका–४ धुराबजार निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीको क्रममा दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ । उनको हाल सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको फेला परेको सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए । मृतक सुशीला बम्जनको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।
घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासु माया रानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।
यता मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले माया रानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
“प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककी सासु र नन्दलाई पक्राउ गरिएको हो,” एसपी सुवेदीले भने, “जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं।”
घटनापछि स्थानीयवासीले मृतकलाई न्याय दिनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै नारा–जुलुस गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि अहिले पनि नाराबाजी जारी रहेको छ ।






