काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनमार्फत नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन गरेर संसद् ल्याउने दायित्व सरकारको भएको उल्लेख गरे । सरकार त्यो जिम्मेवारी पूरा गर्न असफल भए प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको उनको भनाइ थियो ।
“निर्वाचनबाट संसद् बनाउनु पर्छ । त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,” प्रवक्ता महतले भने, “अहिलेको स्थिति यही हो ।”
उनले २१ फागुनमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस चुनावमा सहभागी हुन पूर्ण रूपमा तयार रहेको जिकिर गरे । “जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसद्मा प्रकट हुन्छ,” उनले भने, “त्यस संसद्ले आवश्यक सुधारदेखि संवैधानिक सुधारसम्मका विषय अगाडि बढाउँछ ।”
२१ फागुनमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने उनको स्पष्ट धारणा थियो । “यदि निर्वाचन हुँदैन भने संसद् पुनर्स्थापनाको बाटोमा जान्छ,” उनले भने, “संसद्ले सरकार बनाउँछ र फेरि चाँडै निर्वाचन गरिन्छ । ०८४ सम्म पर्खनु पर्दैन, २०८३ मै निर्वाचन हुन्छ ।”
प्रवक्ता महतले संवैधानिक व्यवस्थामा लामो समयसम्म शून्यता राख्नु खतरनाक हुने चेतावनी पनि दिए । उनले बंगलादेशको पछिल्लो अवस्थाको उदाहरण दिँदै नेपाललाई त्यही बाटोमा जान नदिनुपर्ने बताए ।
“त्यहाँ अहिले गम्भीर अन्यौलता छ, उग्रवादको पराकाष्ठा भइरहेको छ र निर्वाचन झनै अनिश्चिततातर्फ गइरहेको छ,” महतले भने, “हाम्रो देशलाई पनि त्यही अवस्थामा पुर्याउन हुँदैन ।”






