काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज सूचना जारी गर्दै नियमित तथा आंशिक परीक्षार्थीका लागि फाराम खुलाइएको जानकारी दिएको हो ।
सूचनाअनुसार २०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थीले आवेदन दिन सक्नेछन् । परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।
निर्धारित समयभित्र फाराम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म आवेदन फाराम भर्न सक्नेछन् । साथै, शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको आवेदन फाराम आउँदो माघ २५ गतेसम्म सम्बन्धित विद्यालयले बोर्डमा बुझाइसक्नुपर्ने निर्देशन दिइएको छ ।
बोर्डले आफ्ना सम्बन्धित कार्यालयहरूलाई आ–आफ्नो क्षेत्रभित्र रहेका विद्यालय तथा क्याम्पसहरूलाई यससम्बन्धी सूचना जानकारी गराउन अनुरोध पनि गरेको छ ।






