रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यबारे ६ घण्टा छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। काठमाडौँको कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। गएराति अबेरसम्म करिब ६ घण्टा चलेको छलफल आगामी चुनाव, सम्भावित चुनावी तालमेल तथा राजनीतिक सहकार्यमा केन्द्रित रहेको बताइएको छ। स्रोतका अनुसार आउँदो निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित दुवै नेताबीच छलफल अघि बढेको हो।

छलफलपछि दुवै नेतालाई एउटै गाडीमा बिदा गरिएको उल्लेख गर्दै असिम शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘अन्ततः कथाको सुखद शुरुआत भएको’ टिप्पणी गरेका छन्। रुपन्देहीको बुटवलस्थित सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने अदालतको आदेशबाट रिहा भएलगत्तै राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाउँदै आएका छन्। पछिल्लो भेटवार्ताको विस्तृत प्रगति र निष्कर्षबारे छिट्टै सार्वजनिक गरिने रास्वपाका नेताहरूले बताएका छन्।

यसअघि रास्वपा सभापति लामिछानेले आइतवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। उनले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेटेर छलफल गर्ने तयारी गरिरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्