काठमाडौं – अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा “सुरक्षित आप्रवासनमा सामाजिक सुरक्षा कोषको भूमिका” शीर्षकमा आयोजित विद्यालयस्तरीय वक्तृत्व कला प्रतियोगिता काठमाडौँको पेप्सीकोला टाउनप्पानिङमा रहेको नेक्सस इन्टरनेसनल एकेडेमीको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मन्त्रालयको समन्वयमा सामाजिक सुरक्षा कोष तथा Federation of Nepal Foreign Employment Orientation Agency को संयुक्त आयोजनामा गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले सुरक्षित आप्रवासनको आवश्यकता, वैदेशिक रोजगारीमा जाने श्रमिकको अधिकार, जोखिम न्यूनीकरणमा सामाजिक सुरक्षा कोषको भूमिका तथा सामाजिक सुरक्षाले श्रमिक र उनका परिवारलाई दिने संरक्षणका विषयमा धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका लागि नीतिगत व्यवस्था र सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए। उनले विद्यालय तहदेखि नै आप्रवासन र सामाजिक सुरक्षासम्बन्धी चेतना फैलिनु सकारात्मक पक्ष भएको उल्लेख गरे।
आयोजक संस्थाहरूका प्रतिनिधिहरूले यस प्रकारका शैक्षिक तथा सन्देशमूलक कार्यक्रमहरूले युवा पुस्तामा सुरक्षित आप्रवासनबारे ज्ञान अभिवृद्धि हुने र सामाजिक सुरक्षा कोषप्रति विश्वास बढ्ने विश्वास व्यक्त गरे। कार्यक्रमले सुरक्षित आप्रवासनको महत्व उजागर गर्नुका साथै सामाजिक सुरक्षा कोषसम्बन्धी थप, गहिरो र विविध जानकारी प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ।







