जलस्रोतसँग सम्बन्धित आपत्कालीन उद्धारमा खटिने दक्ष जनशक्ति उत्पादन गर्ने , र्याफ्टिङसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्न र शैक्षिक अध्ययन तथा अनुसन्धान प्रवद्र्धनका साथै जल पर्यटनलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ भाँगेचौर स्थित भोटेकोशी नदीको किनारमा एशियाकै पहिलो र्याफ्टिङ स्कुल निर्माण सम्पन्न भएको छ ।
पर्यटन विभागले भोटेकोशी नदी किनारको भौगोलिक र भौतिक बनावट र्याफ्टिङ तालिमका लागि उपयुक्त रहेको ठहर पछि उक्त स्कुलमा लगानी गरेको छ । नेपाल सरकारको १३ करोड रुपैयाँ लागतमा उक्त र्याफ्टिङ स्कुल निर्माण गरिएको हो । नदीकिनारमा झन्डै १३ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा आवश्यक संरचना निर्माण सम्पन्न भएको छ । आगामी फागुनदेखि सञ्चालनमा ल्याइने विद्यालयमा कक्षाकोठा, प्रशिक्षण हल, पौडीपोखरी आवास गृह सहित र्याफ्टिङ तालिमका लागि आवश्यक अन्य पूर्वाधार तयार भइसकेका छन् ।
बाग्मती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको पहलमा उक्त स्कूल निर्माण भएको हो । हालै प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, प्रदेश सांसद अमृता नेपाल र सचिव दीपेन्द्र सुवेदी लगायतको टोलीले स्कूलको भौतिक पूर्वाधारको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय सरोकारवालाहरुसँग स्कूल सञ्चालनका बारेमा आवश्यक छलफल गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीको अनुरोधमा प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले र्याफ्टीङ स्कुल सञ्चालनको जिम्मा लिने तयारी गरेको छ।प्रदेश सरकारले एउटा छुट्टै व्यवस्थापन समितिको गठन गरेर स्कूल सञ्चालनको तयारी गरिरहेको बताइएको छ ।
सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले स्कुलमा ‘वाटर रेस्क्यु कसरी गर्ने, यसलाई पर्यटन र आयआर्जनसँग कसरी जोड्न सकिन्छ र पानीभित्र आधारित साहसिक खेलहरूमा केन्द्रित कोर्स तयार भइरहेको बताए । उनका अनुसार ‘यो कोर्स विद्यालयस्तरका विद्यार्थीका लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।
र्याफ्टिङ स्कुलमा मुख्यत ६ महिनासम्मको कोर्स सञ्चालन गरिनेछ । तर, यहाँ भर्ना हुनका लागि दुई वर्षदेखि र्याप्टिङ तथा जलाशय क्षेत्रमा काम गरेको भने हुनुपर्नेछ । जलसम्बन्धी खेल र र्याफ्टिङको हब बनाउने गरी यो क्षेत्रमा एकेडेमिक कक्षा सञ्चालन गर्न लागिएको हो । कक्षा सञ्चालन भइसकेपछि पहिलो चरणमा १६० जना विद्यार्थी भर्ना लिइनेछ । भोटेकोशी क्षेत्रमा पानीसँग सम्बन्धित थुप्रै पेसा व्यवसाय गर्न सकिने भएकाले यस योजनामा काम भइरहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।
कोर्स सञ्चालनका लागि नेपाल पर्यटन तथा होटेल व्यवस्थापन समिति (नाथम) ले ‘नेसनल ह्वाइट वाटर स्कुल बलेफी’ कार्यविधि पास गरिसकेको छ ।






