सूर्यास्तले तानेको भीड: बिना मेला पनि सप्तकोशी बगरमा उत्सवजस्तै चहलपहल

सुनसरी — न त कुनै मेला लागेको थियो, न औपचारिक कार्यक्रम नै। तर शनिबार साँझ सप्तकोशी बगर भने मानौँ उत्सवस्थलझैँ देखियो। दिन ढल्किँदै जाँदा सूर्य पश्चिमी क्षितिजतर्फ लुक्न खोज्दा हजारौँ मानिस स्वतः कोशीकिनारतर्फ आकर्षित भए। कोशीबगर–शिसौली–बोराबाँध क्षेत्र आसपास सवारी साधनको लाम, पैदल हिँड्नेको भीड र सेल्फी खिच्नेहरूको उत्साहले वातावरण जीवन्त बनेको थियो।

पर्यटन अभियन्ता रामसुन्दर बकेका अनुसार सप्तकोशी बगरमा उभिँदा थाइल्याण्डको चर्चित जोम्टियन बीचको अनुभूति हुन्छ। “पानी, बालुवा, खुला आकाश र सूर्यास्त-यी चार तत्व एकै ठाउँमा भेटिँदा समुद्री किनारमा उभिएको जस्तो अनुभूति हुन्छ,” उहाँ भन्नुहुन्छ, “यही विशेषताले सप्तकोशी बगरलाई नेपालकै फरक र सम्भावनायुक्त पर्यटकीय गन्तव्य बनाउने आधार दिएको छ।”

अहिले कोशीबगरमा पानीसँग खेल्ने विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालनमा छन्। बालुवामा रमाउने बालबालिका, फोटो र भिडियो बनाउँदै गरेका युवा, शान्त वातावरणमा सूर्यास्त नियालिरहेका परिवार—सबैले यो स्थानलाई आफ्नै तरिकाले अनुभव गरिरहेका देखिन्छन्। यसले स्थानीय युवाहरूका लागि रोजगारीका नयाँ अवसरसमेत सिर्जना गर्न थालेको छ।

चाखलाग्दो कुरा के छ भने, सप्तकोशी बगर कुनै ठूला प्रचार–प्रसार बिना नै छोटो समयमै चर्चामा आएको हो। सामाजिक सञ्जालमा फैलिएका तस्वीर र भिडियो, साथै मुखमुखै प्रचारले यो स्थानलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाएको छ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सप्तकोशी क्षेत्र अहिले प्राकृतिक सौन्दर्यको नयाँ पहिचानसहित उदाउँदै छ। विज्ञहरू भन्छन्—यदि दीर्घकालीन योजना, व्यवस्थित व्यवस्थापन र वातावरणमैत्री पूर्वाधार विकास गर्न सकियो भने सप्तकोशी बगर आन्तरिक मात्र होइन, बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्छ।

बिना मेला, बिना कार्यक्रम—सूर्यास्तकै नाममा जुटेको भीडले सप्तकोशी बगरको भविष्यको सम्भावनातर्फ संकेत गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्