काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको आयात–निर्यात दुवै कारोबार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार साउनदेखि मङ्सिर मसान्तसम्म सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात १५ दशमलव ८३ प्रतिशतले बढेको विभागले जनाएको छ । यस्तै, निर्यात व्यापार पनि उल्लेख्य रूपमा बढ्दै ५८ दशमलव १७ प्रतिशतको वृद्धिसहित एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
पाँच महिनाको अवधिमा आयात निर्यातको असन्तुलनका कारण व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । नेपालले निर्यातभन्दा धेरै आयात गर्ने प्रवृत्ति कायम रहेकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा रहेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार आयात र निर्यात दुवैतर्फ सबैभन्दा धेरै कारोबार हुने वस्तुको सूचीमा भटमासको तेल परेको छ । पाँच महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ भने ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
आयाततर्फ डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामजन्य सामग्री र स्मार्टफोन प्रमुख वस्तु रहेका छन् । यस्तै निर्याततर्फ अलैँची, गलैँचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा र पाम तेल प्रमुख वस्तुका रूपमा रहेका छन् । आयात–निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटा घटाउन निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा ध्यान दिनुपर्ने अर्थविद्हरूको सुझाव छ ।






