गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

सिन्धुली – गोलन्जोर गाउँपालिकाको आयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागमती प्रदेश हेटौँडा र समुदाय पद्धति विकास सेवा, सिन्धुलीको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारस्थित गोलन्जोर आधारभूत अस्पतालमा आयोजना हुने उक्त शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ। शिविर पुस ८ गते बिहान ८:०० बजेदेखि साँझ ५:०० बजेसम्म र पुस ९ गते बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन (MDGP), छाला तथा यौन रोगसम्बन्धी परामर्श उपलब्ध गराइनेछ। साथै रेडियोलोजी सेवाअन्तर्गत एक्स–रे, भिडियो एक्स–रे तथा अल्ट्रासाउन्ड (USG) परीक्षण, सुगर, प्रेसर र थाइराइड जाँच, रगत, दिसा, पिसाब तथा खकार परीक्षणको सुविधा पनि रहनेछ। आवश्यक परे निःशुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले बताएको छ। आयोजकले स्थानीय बासिन्दा तथा आसपासका नागरिकलाई शिविरमा सहभागी भई मौकाको फाइदा उठाउन आग्रह गरेको छ।

स्वास्थ्य शिविर गोलन्जोर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, ग्वाल्टार सिन्धुलीको आयोजनामा सञ्चालन हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्