काठमाडौं – भारत र श्रीलंकामा आगामी माघ २५ देखि फागुन २४ गतेसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि औपचारिक तयारी सुरु गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप तयारीका लागि २४ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको हो। क्यानका अनुसार यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडीसँगै हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्रदर्शनका आधारमा थप खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको छ। एनपीएल सिजन–२ करिब १० दिनअघि सम्पन्न भएको थियो।
प्रशिक्षण क्याम्पमा बोलाइएका खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहोरा र रुपेश कुमार सिंह रहेका छन्।
विश्वकपको समूह चरणमा नेपालले भारतको मुम्बईमा आफ्ना सबै खेल खेल्नेछ। नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली नेपालका प्रतिस्पर्धी हुन्। नेपालले माघ २५ गते इङ्ल्यान्डविरुद्ध खेल्दै टी–२० विश्वकप अभियानको सुरुवात गर्नेछ।






