काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएको छ। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र व्यवस्थापनबारे छलफल गर्न आयोगले बैठक आयोजना गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे हुने छलफल आगामी निर्वाचनका विविध पक्षमा केन्द्रित रहने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार छलफलमा हालसम्मको निर्वाचन तयारी, आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थालगायतका विषयमा आयोगले जानकारी गराउनेछ। बैठकमा राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिसँगै सुरक्षा निकायका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको छ।
आयोगले छलफलबाट निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक सहकार्य र प्रतिबद्धता सुनिश्चित गर्ने अपेक्षा गरेको छ।






