दार्चुला – दार्चुलाको अपीहिमाल गाउँपालिकामा स्थानीय तह स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित सम्तेलीचौर खेलमैदानमा एक औपचारिक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरिएको हो। अपिहिमाल गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष गगन सिंह कार्कीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र सिंह बोहरा, वडा नं. २ का अध्यक्ष राम सिंह धामी, वडा नं. ५ का अध्यक्ष राजेन्द्र सिंह धामी, जिल्ला खेलकुद समिति कार्यालय प्रमुख श्यामराज अवस्थीसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँ तथा वडा शिक्षा समितिका पदाधिकारी, खेलकुद विकास समितिका सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
उनले भने, “खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना विकास गर्छ। अपीहिमाल गाउँपालिकाले आगामी दिनमा पनि खेलकुदलाई प्राथमिकतामा राख्दै प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्नेछ।”
उद्घाटन सत्रमा शिक्षा शाखा प्रमुख वीरेन्द्र सिंह साउदले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत मदन राज जोशीले गरेका थिए। प्रतियोगितामा १८ वर्षमुनि तथा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी तथा एथलेटिक्सतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटफुट प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
ज्याभलिन थ्रोतर्फ छात्रको ८०० ग्राम र छात्राको ६०० ग्राम तथा सटफुटमा छात्रको १२ पाउण्ड र छात्राको ८ पाउण्ड प्रयोग गरिने बताइएको छ। प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ।






