नेशनल प्याब्सन क्रिकेट लिग भव्य रूपमा उद्घाटन

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिद्वारा आयोजना गरिएको “नेशनल प्याब्सन क्रिकेट लिग (NPCL)–२०८२” आज आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदान, कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित उद्घाटन समारोहको प्रमुख अतिथि नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवाष न्यौपाने रहनुभएको थियो। बिहान ८ बजेबाट सुरु भएको कार्यक्रममा देशभरका नेशनल प्याब्सन आवद्ध विद्यालयका प्रतिनिधि, पदाधिकारी तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले खेलकुद विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा केवल कक्षाकोठाभित्र सीमित हुनुहुँदैन। खेलकुदले अनुशासन, नेतृत्व, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्छ।प्याब्सनले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले यस किसिमका राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्दै आएको छ।”

उहाँले नेशनल प्याब्सन क्रिकेट लिगले विद्यालयस्तरको क्रिकेटलाई संस्थागत गर्न तथा राष्ट्रिय खेलाडी उत्पादनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई अनुशासन र खेल भावना कायम राख्दै खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो।

नेशनल प्याब्सन केन्द्रीय समितिले आयोजना गरेको उक्त प्रतियोगिता २०८२ साल पौष ६ गतेदेखि सञ्चालन हुँदै विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक क्रिकेट खेलहरू हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शैक्षिक र सह–पाठ्यक्रम गतिविधिबीच सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ। उद्घाटन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। नेशनल प्याब्सन केन्द्रीय समितिका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख बिष्णु पराजुलीका अनुसार यस नेशनल प्याब्सन क्रिकेट लिगको संयोजक भने श्याम योन्जन रहुनभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्