दार्चुला — दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–३ भैसेबगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार जिप दुर्घटना भएपछि जोशी सोही जिपले च्यापिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि मार्मा आधारभूत स्वास्थ्य चौकी पुर्याइएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी जोराले जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न जिप चालक मार्मा गाउँपालिका–६ सेरी निवासी २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार जिप अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






