काठमाडौँ — नेकपा (एमाले) का नेता ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपातपूर्ण व्यवहार देखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ। बबरमहलमा आज बसेको पोखरेल समूहको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सार्ने सकारात्मक प्रस्तावलाई समर्थन गर्ने, तर पार्टी एकतालाई खण्डित गर्ने वा पक्षपात गर्ने कदम आए प्रतिवाद गर्ने निर्णय गरेको हो।
भेलापछि उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्षमा निर्वाचित भएकोमा केपी शर्मा ओलीलाई बधाई दिइएको र उहाँका राम्रा पहलमा साथ रहने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भने, “अध्यक्षले ल्याउने सकारात्मक प्रस्तावलाई हामी समर्थन गर्छौँ। तर पार्टीभित्र काखा–पाखा गर्ने, गुटबन्दी र विभाजन बढाउने तथा पक्षपातपूर्ण प्रस्ताव आए भने त्यसको प्रतिवाद गर्छौँ।”
भट्टराईले आगामी चुनावलगायत बाह्य प्रतिस्पर्धामा पार्टी एकजुट रहने स्पष्ट पार्नुभयो। यद्यपि विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उहाँको भनाइ छ।
उपमहासचिव भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनेको आरोप पनि लगाउनुभयो। उहाँका अनुसार प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचन प्रक्रियासम्म पार्टीका संरचनाको दुरुपयोग भएको थियो।
महाधिवेशनमा आफ्नो पक्षले अपेक्षित सफलता हासिल गर्न नसकेको विषयमा समीक्षा गर्ने निर्णय पनि भेलाले गरेको भट्टराईले बताउनुभयो।







