जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेसँगै उहाँले सर्वसम्मत विश्वासको मत पाउनुभएको हो।
प्रदेशसभाका कुल ९२ सदस्यबाट उहाँको पक्षमा ९२ नै मत खसेको थियो। सत्तारूढ दलहरूका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सबै दलले विश्वासको मत दिएपछि यादवको नेतृत्वमा रहेको सरकारलाई व्यापक राजनीतिक समर्थन प्राप्त भएको देखिएको छ।
६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नियुक्तिपछि उहाँले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।
सर्वसम्मत विश्वासको मत प्राप्त गरेपछि मधेश प्रदेशमा राजनीतिक स्थिरता सुदृढ हुने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा प्रदेश सरकार विकास, सुशासन र सेवा प्रवाहमा केन्द्रित भएर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।






