सुशीला कार्की नेतृत्वको सरकारको सय दिन पूरा, चुनाव तयारी र वित्तीय सुशासनमा प्रगति

FILE PHOTO

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ। नवयुवा आन्दोलनपछि भदौ २७ गते गठन भएको सरकारको सय दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको तयारी, शान्ति सुरक्षा र वित्तीय सुशासनमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको परिवर्तनको ढोका उघार्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै यसलाई “राष्ट्रिय अनुष्ठान” का रूपमा सम्पन्न गर्न सबै नागरिकलाई आह्वान गर्नुभयो। उहाँले विशेषगरी नवयुवालाई आफ्नो आक्रोश र सपनालाई सडक आन्दोलनभन्दा पनि मतपत्रमार्फत व्यक्त गर्न आग्रह गर्नुभएको छ।

चुनाव अब अपरिहार्य बाटो : प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले चुनाव सर्ने वा रोकिने भन्ने हल्लालाई निराधार र भ्रमपूर्ण बताउँदै तोकिएको समयमै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार “चट्टानझैँ दृढ” रहेको स्पष्ट पार्नुभयो।
“२०८२ फागुन २१ गतेको निर्वाचन अब केवल कार्यतालिका होइन, देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो,” उहाँले भन्नुभयो।

सुरक्षा तयारी पूरा, सेना परिचालन सुनिश्चित

प्रधानमन्त्रीका अनुसार सरकारले ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत गरिसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १ हजार ३ सय ४२ थान हतियारमध्ये अधिकांश बरामद भइसकेको र थप ३२ थान हतियार नियन्त्रणमा लिइएको जानकारी उहाँले दिनुभयो।

यसैगरी, क्षतिग्रस्त ४ सय ६५ वटा प्रहरी कार्यालय पुनःसञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ। निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको प्रधानमन्त्री कार्कीले बताउनुभयो।

८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार

सरकारको सय दिनको उपलब्धिमध्ये मतदाता नामावली ऐन संशोधनलाई प्रधानमन्त्रीले “ऐतिहासिक फड्को” को संज्ञा दिनुभयो। संशोधनपछि चुनावको मिति घोषणा भइसकेपछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको उहाँको भनाइ छ।
हाल १ करोड ८१ लाखभन्दा बढी मतदाताले देशको भविष्य तय गर्ने अधिकार पाएको र १ सय १४ वटा राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुनु लोकतन्त्रको मजबुतीको प्रमाण भएको उहाँले उल्लेख गर्नुभयो।

आन्दोलनपछिको क्षति पुनःनिर्माण

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनापछि देशलाई पुनः शान्तिको बाटोमा फर्काइएको दाबी गर्नुभयो। ती घटनामा ज्यान गुमाउनेलाई शहीद घोषणा गरिएको, घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मार्फत काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो।

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासन

प्रधानमन्त्री कार्कीले सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय अनुशासनमा ठोस कदम चालिएको दाबी गर्नुभयो।
पदमा रहँदा वा अवकाशपछि पनि लिइँदै आएका अनधिकृत सुविधा कटौती गरिएको, मापदण्डविपरीत खटिएका ५ सय सुरक्षाकर्मी र गाडी फिर्ता गरी नागरिक सेवामा परिचालन गरिएको उहाँको भनाइ छ।

यसैगरी, अनावश्यक ३८ वटा कार्यालय खारेज, ३ सय २३ वटा दरबन्दी कटौती र १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुनः प्राथमिकीकरण गरी ठूला विकास आयोजनामा स्थानान्तरण गरिएको बताइएको छ।

सेवा प्रवाह र पूर्वाधारमा सुधार

प्रधानमन्त्रीका अनुसार ‘हेलो सरकार’ प्रणालीमार्फत ५० हजारभन्दा बढी नागरिक गुनासो सम्बोधन गरिएको छ। काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १ सय १ मेगावाट विद्युत थपिएको छ। साथै, थलिएका व्यवसायीका लागि एकीकृत व्यवसाय पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ।

राष्ट्रिय एकताको आह्वान

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई हार–जितको प्रतिस्पर्धा मात्र नभई लोकतन्त्र, सुशासन र राष्ट्रियताको जितका रूपमा लिन आग्रह गर्नुभयो।
“अराजकताले कसैलाई खुशी दिँदैन, शान्ति र स्थिरताले मात्र समृद्धिको ढोका खोल्छ,” उहाँले भन्नुभयो, “आउनुहोस्, फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गरौँ।”

प्रधानमन्त्रीले यो निर्वाचनले नेपालको राजनीतिमा “नयाँ, स्वच्छ र सुनौलो अध्याय” सुरु गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्