भक्तपुर — धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले विश्वमै परिचित चाँगुनारायण नगरपालिका पछिल्लो समय आधुनिक पूर्वाधार विकाससँगै द्रुत गतिमा अगाडि बढिरहेको छ। नगरपालिकाले धार्मिक तथा प्राकृतिक पर्यटनलाई केन्द्रमा राखेर सडक, पहुँच मार्ग, पदयात्रा र पर्यटकीय पूर्वाधारलाई दिगो विकासको आधार स्तम्भका रूपमा अघि सारेको छ।
नगरपालिकाका मेयर जीवन खत्रीले चाँगुनारायणलाई केवल ऐतिहासिक नगरका रूपमा सीमित नराखी पर्यटन, स्थानीय अर्थतन्त्र र आधुनिक पूर्वाधारको सन्तुलित विकासमार्फत ‘समग्र गन्तव्य’ का रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताएका छन्। “सडक, पहुँच र सुरक्षा बिना पर्यटन सम्भव हुँदैन,” मेयर खत्री भन्छन्, “त्यसैले हामीले धार्मिक स्थल, बस्ती र प्राकृतिक गन्तव्य जोड्ने सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छौँ।”
नगरपालिकाको प्रमुख उपलब्धिमध्ये चाँगुनारायण–नगरकोट कालोपत्रे सडकलाई विशेष महत्वका साथ हेरिएको छ। यस सडकले चाँगुनारायण मन्दिर, पञ्चमहालक्ष्मी मन्दिर, शान्तिडाँडा पार्क, छ्योर्तेन क्षेत्र, मणिकर्णिका धाम हुँदै नगरकोटसम्मको धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदालाई एउटै पर्यटन मार्गमा जोडेको छ। सहज र सुरक्षित आवागमनका कारण नगरकोट क्षेत्रको पर्यटन गतिविधि थप विस्तार भएको स्थानीय व्यवसायीहरू बताउँछन्।

भिरालो र जोखिमयुक्त भू–भागमा सुरक्षा उपायसहित सडक स्तरोन्नति, ग्रामीण बस्ती जोड्ने मार्ग विस्तार, बिग्रिएका सडकको पुनःनिर्माण र पर्यटक आगमन बढी हुने क्षेत्रसम्म पहुँच सुधार नगरपालिकाको दीर्घकालीन योजनामा समावेश गरिएको छ। यसले बजार क्षेत्रदेखि ग्रामीण बस्तीसम्म आर्थिक गतिविधि बढेको मेयर खत्रीको भनाइ छ।
धार्मिक र ऐतिहासिक धरोहरको केन्द्र चाँगुनारायण मन्दिर—नेपालकै सबैभन्दा पुरानो वैष्णव मन्दिर तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थल—सँग नगरकोटको प्राकृतिक सौन्दर्य जोडिँदा यो क्षेत्र प्रकृति, संस्कृति र आस्थाको अनुपम संगमस्थल बनेको छ। दोलागिरी डाँडा, ताथली–दुडेकोट, ब्रह्मायणी क्षेत्र, सिरुटार दृश्यावलोकन स्थल, शान्तिडाँडा, वनपिकनिक स्पट र पदमार्गहरूले नगरपालिकालाई बहुविध पर्यटन अनुभव दिने गन्तव्य बनाएका छन्।
‘चाँगुनारायण भ्रमण वर्ष २०८२’ लाई सफल बनाउने लक्ष्यसहित नगरपालिकाले धार्मिक स्थल संरक्षण, पदयात्रा मार्ग सुधार, पर्यटक सूचना केन्द्र, होमस्टे प्रवर्द्धन, मन्दिर परिसर सौन्दर्यीकरण र सांस्कृतिक कार्यक्रम विस्तारलाई तीव्रता दिएको छ। “एक नगर–बहुविध अनुभव” अवधारणामार्फत धार्मिक आस्था, सांस्कृतिक समृद्धि र प्राकृतिक सौन्दर्यलाई एकैसाथ प्रस्तुत गरिने मेयर खत्रीले बताए।
स्थानीय उत्पादन, होमस्टे, साना व्यवसाय र धार्मिक कार्यक्रमसँग पर्यटन जोडिँदा नगरको समग्र अर्थतन्त्र चलायमान बन्दै गएको छ। सुरक्षित, दिगो र गुणस्तरीय सडक सञ्जाल विस्तारसँगै आगन्तुकलाई स्वागत गर्न तयार ‘नयाँ चाँगुनारायण’ क्रमशः आकार लिँदै गएको स्थानीयको भनाइ छ।
मेयर जीवन खत्रीको नेतृत्वमा पर्यटन र विकास निर्माणलाई सँगसँगै अघि बढाइरहेको चाँगुनारायण नगरपालिका आगामी दिनमा उपत्यकाकै मात्र होइन, नेपालकै अग्रणी धार्मिक–पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।






