काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्नु अहिलेको कार्यनीतिक गन्तव्य भएको बताएका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमार्फत एमालेले यही संकल्प दोहोर्याएको उल्लेख गरे। उनले केन्द्रीय कमिटीका सदस्यहरूलाई उक्त लक्ष्य लिएर गाउँ–टोलमा जान आग्रह गरे।
‘हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा अघि बढाउने संकल्प गरेका छौं। यो हाम्रो असाधारण नीति र अठोट हो,’ ओलीले भने।
उनले यो गन्तव्य जसरी पनि प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनस्तरसम्म पार्टीको नीति र विचार पुर्याउन आग्रह गरे। जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै गाउँ–बस्तीमा फर्कने उनको भनाइ छ। ओलीले पार्टीविरुद्ध विरोधी शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै त्यसलाई सामना गर्दै अघि बढ्ने बताए।






