नेपाल बैंक लिमिटेडद्वारा ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकका कर्मचारी तथा खाताधारक ग्राहकलाई लक्षित गरी बैंकको सेवा प्रदायक एफ–वन सफ्ट इन्टरनेशनल प्रा.लि.को सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो।

बैंकका अनुसार २०८२ साल पौष महिनाभर लागू हुने यस अभियानअन्तर्गत नेपाल बैंकको मोबाइल बैंकिङ एप (NBL Mobile Banking App) मार्फत रु. २०० वा सोभन्दा बढी रकम टप अप गर्ने ८० जना ग्राहकलाई प्रत्येकलाई रु. १०० का दरले बोनस प्रदान गरिनेछ। बोनस प्राप्त गर्ने ग्राहकको नाम अभियान अवधि समाप्त भएपछि सार्वजनिक गरिने जनाइएको छ।

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई आधुनिक प्रविधिमार्फत सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ। यस अभियानले डिजिटल बैंकिङ कारोबारको विस्तार तथा प्रयोगकर्ताको संख्या वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम तथा ६१ एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका करिब १० लाख ग्राहक डिजिटल माध्यमबाट बैंकिङ सेवा लिइरहेका छन्। ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत प्रतिस्पर्धी बैंकको रूपमा नेपाल बैंक लिमिटेड अघि बढिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्