काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । एमाले निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी प्रक्रिया पूरा गर्न केही समय लागे पनि निर्धारित समयमै परिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको छ । “कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य साढे १० बजेसम्म नतिजा आउट गर्ने हो,” उनले भने ।
भृकुटीमण्डपमा ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहे ।
मतगणनाअघि विद्युतीय भोटिङ मेसिनमा रहेका चिप्सलाई मुचुल्का गरी शिलबन्दी गर्ने प्रक्रिया पूरा गरिनेछ । ती मेसिन १० वटा कमाण्डबाट सञ्चालन भएका छन्, जसअन्तर्गत प्रत्येक कमाण्डमा ८–८ वटा मेसिन रहेका छन् । प्रत्येक मेसिनमा एक–एक वटा चिप्स रहेको र ती चिप्समा लाहा छाप लगाएर सुरक्षित राखेपछि उम्मेदवार तथा उनका प्रतिनिधिहरुको रोहवरमा मतगणना सुरु गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।
एमालेले भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, निर्वाचितलाई प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम तय गरेको छ ।
नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् भने प्यानल बाहिरका केही उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।






