गाजापट्टीमा पछिल्लो एक हप्तादेखि भइरहेको भारी वर्षाले विस्थापित प्यालेस्टिनीहरूको दैनिकी झन् कठिन बनेको छ । राष्ट्रसंघका अनुसार यसबाट विशेषगरी बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।
युनिसेफका प्रवक्ता जोनाथन क्रिक्सले गाजामा रातिको मौसम अत्यन्तै कष्टकर बनेको बताउँदै चिसो, पानी जम्ने समस्या र असुरक्षित आश्रयका कारण बालबालिकाको जीवन जोखिममा परेको उल्लेख गर्नुभएको छ । लगातारको वर्षाका कारण कतिपय क्षेत्रमा १० देखि १५ सेन्टिमिटरसम्म पानी जमेको छ ।
राष्ट्रसंघका अनुसार चिसो र भिजेको अवस्थामा टेन्ट तथा अस्थायी आश्रयमा बसिरहेका बालबालिकामा हाइपोथर्मिया र अन्य संक्रामक रोगको उच्च जोखिम देखिएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार चिसोका कारण केही नवजात शिशुको मृत्यु भएको छ भने वर्षाले कमजोर बनेका घर भत्किँदा चार बालबालिकासहित १७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
राष्ट्रसंघले झन्डै ५५ हजार परिवार वर्षाबाट प्रभावित भएको जनाएको छ । गएको सोमवार र मंगलवार परेको अत्यधिक वर्षापछि ४० भन्दा बढी आपतकालीन आश्रयस्थल डुबानमा परेका थिए, जसका कारण धेरै परिवार पुनः विस्थापित हुन बाध्य भएका छन् । युनिसेफका अनुसार हाल गाजामा करिब १० लाख मानिस टेन्ट र अस्थायी संरचनामा बसिरहेका छन् । रातिको तापक्रम ७–८ डिग्री सेल्सियससम्म झर्ने भएकाले बालबालिकाको स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ ।
युद्धविरामपछि युनिसेफले २ लाख ५० हजार जाडोका लुगा, विभिन्न राहत किट, ६ लाख कम्बल र ७ हजार टेन्ट गाजामा पठाएको भए पनि त्यो पर्याप्त नरहेको जनाएको छ । रेडक्रसले पनि क्षतिग्रस्त भवनहरू भत्किनु गम्भीर चिन्ताको विषय भएको बताउँदै खाद्य सामग्री, सुरक्षित आश्रय र पूर्वाधार मर्मतका लागि दीर्घकालीन मानवीय सहयोग आवश्यक रहेको जनाएको छ ।
यसैबीच, इजरायली सैन्य निकायले सहायता रोकिने गरेको आरोप अस्वीकार गर्दै दैनिक ६ सयदेखि ८ सय सहायता बोकेको ट्रक गाजामा प्रवेश गरिरहेको दाबी गरेको छ । तर राष्ट्रसंघले उपलब्ध भइरहेको सहायता अझै आवश्यकताभन्दा अपुग रहेको बताएको छ ।







