एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो।

नयाँ नेतृत्व चयनका लागि कुल २ हजार २ सय ६३ जना प्रतिनिधि तोकिएका थिए। तर, शतप्रतिशत मतदान भने हुन सकेन। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार २ हजार २२७ मत मात्र खसेको छ भने ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए।

उनका अनुसार मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो।

मतदानको मतपरिणाम आजै सार्वजनिक गरिने तयारी गरिएको छ। बिहान ११ बजे भृकुटीमण्डपमै मतपरिणाम सार्वजनिक गर्ने, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै प्यानलमा नअटेका केही नेताहरूले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्