नेकपा एमाले ११औं महाधिवेशन: नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ। भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।

अहिले महाधिवेशन प्रतिनिधिहरू क्रमशः मतदानमा सहभागी भइरहेका छन्। सुरुमा मतदान गरेका ओली र पोखरेललाई मतदान गर्न करिब ४० मिनेट लागेको थियो। व्यवस्थापनअनुसार अहिले एक पटकमा ५० जना प्रतिनिधिलाई मतदान कक्षभित्र प्रवेश गराइएको छ।

मतदान कक्षभित्र प्रवेश गरेपछि पहिलो चरणमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ। त्यसपछि तोकिएको स्थानमा पुगेर कार्डमा प्वाल पारिन्छ र मतदानका लागि बुथभित्र रहेको मेसिनमा प्रवेश गरिन्छ।

मेसिनभित्र फोटोसहित उम्मेदवारहरूको सूची राखिएको छ। मतदान गरेका प्रतिनिधिहरूका अनुसार कहिलेकाहीँ मेसिनमा टच काम नगर्दा ‘डबल ट्याप’ गर्नुपर्ने अवस्था आएको छ। यस्तो गर्दा कतिपय अवस्थामा मत ‘विथड्र’ भई पुनः मतदान गर्नुपर्ने सूचना स्क्रिनमा देखिने गरेको उनीहरूले बताएका छन्।

मेसिनले उम्मेदवारको संख्याअनुसार सबै मत हाल्नुपर्ने जानकारी दिन्छ। कुनै पदमा मत छुटेमा ‘यति मत हाल्न बाँकी छ’ भन्ने सन्देश देखिने भएकाले मतदाता पुनः मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिनिधिहरूका अनुसार एक जनाले मतदान गर्न २५ देखि ४० मिनेटसम्म समय लागिरहेको छ। प्रविधिमैत्री मतदातालाई औसतमा २५ मिनेट जति लाग्ने अनुभव उनीहरूले बताएका छन्।

मतदान कक्षभित्र मोबाइल फोन लैजान निषेध गरिएको छ भने उम्मेदवारको सूची भने बोकेर जान दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्