काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग रोक्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा झण्डा, जुलुस र प्रचारका विभिन्न माध्यममा कडाइ गर्ने व्यवस्था समेटिएको हो।
आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। झण्डाको अनावश्यक दुरुपयोग रोक्न संख्या तोकेर सीमा निर्धारण गरिएको आयोगले जनाएको छ। प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न तथा राजनीतिक दल वा उम्मेदवारको नाम र चिह्न भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न पाइने व्यवस्था गरिएको छ।
यसैगरी चुनाव प्रचारका क्रममा घरदैलो कार्यक्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी भई जुलुस प्रदर्शन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित जान पनि निषेध गरिने उल्लेख छ।
प्रस्तावित आचारसंहिताअनुसार अनलाइन, वेवपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटीएम र काउन्टरमा सन्देश, सडक नाटकजस्ता माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न पाइने छैन। तर राजनीतिक दल वा उम्मेदवारले एउटा निजी तथा आधिकारिक वेवपेजमा भने प्रचार सामग्री राख्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसैगरी कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले यी व्यवस्था प्रस्ताव गरिएको जनाएको छ।







