नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह–२०८२ विभिन्न खेलसहित सम्पन्न

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ आज विविध खेल प्रतियोगिता तथा पुरस्कार वितरणसहित नेरीक एकेडेमीमा सम्पन्न भएको छ। विद्यालयस्तरका विद्यार्थीहरूमा खेल भावना, अनुशासन र सहकार्यको विकास गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद सप्ताह मंसिर २२ गतेदेखि सुरु भई आज पुस १ गते समापन भएको हो।

खेलकुद सप्ताहअन्तर्गत फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार विधाका खेलहरू सञ्चालन गरिएका थिए। यस वर्ष १३९ भन्दा बढी विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुने व्यवस्था गरिएको थियो। यसैगरी खेलकुद सप्ताहको पहिलो दिन उद्घाटन समारोहमा आयोजित मार्चपासमा एपेक्स स्कुल प्रथम, सगरमाथा स्कुल द्वितीय र निर्मल ज्योति स्कुल तृतीय भएका थिए।

तानडोरी प्रतियोगितामा छात्रतर्फ एलिगेण्ट स्कुल प्रथम, ज्ञानभूमि स्कुल दोस्रो र ग्रीनफिल्ड स्कुल तृतीय भएका छन्। छात्रातर्फ माइलस्टोन स्कुल प्रथम, पिपुल्स एकेडेमी दोस्रो र मिलन धर्मस्थली तृतीय स्थानमा रहे। तानडोरीका खेलहरू भीमसेनगोला स्थित अमर आदर्श स्कुलमा सम्पन्न भएका थिए।

फुटसलतर्फ सम्पन्न प्रतियोगितामा निर्मल ज्योति स्कुल प्रथम, मिलन धर्मस्थली स्कुल दोस्रो र कामना स्कुल तेस्रो भएका छन्। कपनस्थित दिक्षालय फाउन्डेशनमा सम्पन्न फुटसल प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको थियो। खेल संयोजक नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष नारायणबाबु तिम्सिना रहनुभएको थियो।

कबड्डी प्रतियोगितामा छात्रतर्फ ज्ञानभूमि स्कुल तारकेश्वर विजेता बनेको छ भने माइलस्टोन स्कुल दोस्रो र अर्किड प्युपल सेकेन्डरी स्कुल तथा एजीएम स्कुल तृतीय स्थानमा रहेका छन्। छात्रातर्फ भीमेश्वर स्कुल प्रथम, बेष्ट ग्रुप स्कुल दोस्रो तथा अर्किड स्कुल र ट्रीटन स्कुल तृतीय भएका छन्। कबड्डी खेल सञ्चालन  एजीएम स्कुलमा भएको थियो ।

बास्केटबलतर्फ हिमाली स्कुल प्रथम, पिपुल्स एकेडेमी द्वितीय र साइन मोडल स्कुल तृतीय भएका छन्।  उक्त खेल बानेश्वरको शंखमुलमा रहेको नेरीक एकेडेमीमा भएको थियो ।  नेशनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेमकुमार भुजेलले खेल सम्पन्न गर्न विभिन्न विधाका खेलको लागि ग्राउण्ड उपलब्ध गराउने विद्यालय तथा प्रायोजकहरुलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रतियोगिताका प्रायोजकमा युनिक पब्लिकेशन, शुभकामना पब्लिकेशन, ट्रीटन कलेज र नेरीक एकेडेमी रहेका थिए।

विजयी टिम तथा खेलाडीहरूले ट्रफी, मेडल र नगद पुरस्कार प्राप्त गरेका छन्। आयोजकका अनुसार विद्यालयस्तरका विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन, सहकार्य र प्रतिस्पर्धाको भावना विकास गराउने उद्देश्यले आयोजना गरिएको खेलकुद सप्ताहले सकारात्मक सन्देश दिएको छ।

समापन समारोहमा बोल्दै नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष अमृतकुमार खड्काले खेलकुद सप्ताह विद्यालय शिक्षाको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक छन्। खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र आपसी सहकार्यको भावना विकास गर्छ। यही उद्देश्यका साथ नेशनल प्याब्सनले प्रत्येक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको छ।” उहाँले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालय, शिक्षक, अभिभावक, खेल संयोजक तथा प्रायोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले निजी विद्यालयहरू केवल शैक्षिक नतिजामा मात्र सीमित नभई विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा समेत जिम्मेवार हुनुपर्ने बताउनुभयो। “खेलकुद सप्ताहजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धा, अनुशासन र टीमवर्क सिकाउँछ,” उहाँले भन्नुभयो, “नेशनल प्याब्सनले देशभर यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै निजी विद्यालयको भूमिकालाई अझ सशक्त बनाउँदै लैजानेछ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्