हर्क साम्पाङले नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर समेत चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।

प्रहरीका अनुसार लामा २०६८ सालमा काठमाडौँको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न मुद्दामा जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। तर उनी पाँचथर जिल्लामा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार देखिएपछि पुनः पक्राउ गरिएको सीआईबीले जनाएको छ। यसअघि २०६९ साल असारमा पाँचथरको भुसपातेबाट उनलाई विस्फोटक पदार्थसहित पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। बबरमहलमा तीन जनाको मृत्यु हुने गरी भएको विस्फोट घटनामा फरार रहेका लामामाथि त्यसबेला अनुसन्धान गरी अभियोजन गरिएको थियो।

बबरमहल विस्फोट प्रकरणमा कैद सजायको फैसला भएपछि लामा नख्खु कारागारमा सजाय भुक्तान गरी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा भएका थिए। प्रहरीका अनुसार उनीविरुद्ध पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दा हाल विचाराधीन अवस्थामा रहेको भेटिएको छ। थप अनुसन्धानका लागि सीआईबीले लामालाई पाँचथर पठाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्