एडीबीको करिब १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ – सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने झन्डै १४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले एडीबीबाट प्राप्त हुने उक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

बैठकले सिराहाको लहान नगरपालिकामा पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको जग्गा तथा त्यसमा निर्माण भएको भवन रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय पनि गरेको छ।

त्यसैगरी यही पुस १२ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले बताउनुभयो।

मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका आठ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। साथै बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्