काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। पार्टीले यसपटक विद्युतीय उपकरणमार्फत मतदान प्रक्रिया सञ्चालन गर्न लागेको हो। नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै समूहले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
एमाले निर्वाचन आयोगका प्राविधिक लक्ष्मण रिमालका अनुसार सोमबार राति १ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त भएको थियो। निर्वाचन व्यवस्थापनको जिम्मेवारी पाएको रामलक्ष्मण इनोभेसनअन्तर्गतको ‘ब्यालोट सोलुसन’ले हाल उम्मेदवारहरूको फोटो कोडिङको काम गरिरहेको छ।
रिमालका अनुसार उम्मेदवारहरूलाई मतदान उपकरणमा सूचीकृत गर्ने काम अपराह्न ४ बजेसम्म सम्पन्न हुने छ। त्यसपछि औपचारिक रूपमा मतदान प्रक्रिया सुरु गरिने छ। विद्युतीय प्रणालीमार्फत मतदान गर्न एक जना मतदातालाई औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ।
एमालेको यस महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय तथा मनोनीत गरी कूल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन्। उनीहरूले आज पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्।






