दोधाराचाँदनीमा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका विभिन्न वडामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।

महाकाली नदि र जगबुडा नदिका कारण प्रत्येक वर्ष विपद्को जोखिम उच्च मानिने दोधाराचाँदनी नगरपालिकामा गठित समितिहरूको सहभागितामा उक्त बैठक आयोजना गरिएको हो । उक्त समिक्षा बैठकमा १२ वटा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको उपस्थिती रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसिएद्वारा आयोजित कार्यक्रम दोधाराचाँदनी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो । बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा हालसम्म गरिएका गतिविधि, प्राप्त उपलब्धि, चुनौती र सिकाइका विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गर्दै समुदायको सक्रिय सहभागिताका कारण विपद् प्रतिकार्य क्षमता क्रमशः सुदृढ हुँदै गएको बताए । उनले आगामी कार्ययोजनामार्फत जोखिममा रहेका समुदायलाई अझ सुरक्षित बनाइने स्पष्ट पारे ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का वातावरणविद् भोजराज भट्टले यस्ता कार्यक्रमले वर्षभरिका सम्पूर्ण गतिविधिको समिक्षा तथा आगामि वर्षका लागि रणनिती तयार गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए।

दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले नगरपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समुदायसँग सहकार्य गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा पनि सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई संस्थागत गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

बैठकमा सहभागी सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आआफ्नो क्षेत्रको अवस्थाबारे प्रस्तुतीकरण गर्दै अनुभव, चुनौती र सिकाइहरू सुनाएका थिए । सो अवसरमा समितिहरूलाई विपद् प्रतिकार्यका लागि आवश्यक सुरक्षात्मक ज्याकेट समेत वितरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) की सामाजिक परिचालिका निर्मला सुनारले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्