अर्किड आइडल गायन प्रतियोगिता सिजन-११ भव्य रूपमा सम्पन्न, रोनिस गोले बने आइडल

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलद्वारा आयोजित अर्किड आइडल गायन प्रतियोगिता सिजन-११ भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको प्रतियोगिता क्वालिफाइङ राउन्ड, सेमीफाइनल हुँदै फाइनल राउन्डसम्म प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो।

फाइनल राउन्डमा उत्कृष्ट प्रस्तुति दिँदै कक्षा ९ का छात्र रोनिस गोले प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यस्तै कक्षा ७ की लुना बराल द्वितीय, कक्षा ७ कै रोजिना खड्का तृतीय तथा कक्षा ५ की निम्साङ तामाङ चौथो स्थानमा रहे। विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले प्रतियोगिताले विद्यार्थीहरूको गायन प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा लुकेको प्रतिभा पहिचान र प्रस्फुटन गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम हुन्। सहभागी सबै विद्यार्थीहरू प्रशंसाका पात्र छन्।”

विद्यालयका प्रधानाध्यापक सिबी कार्कीले सिर्जनात्मक तथा सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र व्यक्तित्व विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो। “अर्किड आइडलजस्ता कार्यक्रमले पढाइसँगै कला र संस्कृतिको सम्मान गर्न सिकाउँछ,” उहाँले भन्नुभयो।

त्यसैगरी विद्यालय निर्देशक प्रेम कुमार भुजेलले प्रतियोगितालाई मर्यादित, आकर्षक र प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने निर्णायक, शिक्षक, अभिभावक तथा दर्शक विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। “सबैको सहकार्यले कार्यक्रम सफल भएको हो,” उहाँको भनाइ थियो। विद्यालय परिवारले क्वालिफाइङदेखि फाइनल राउन्डसम्म सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्