एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो।

नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। बङ्गलादेशका जावाद अबरारले अविजित ७० रन बनाए। नेपालका अभिषेक तिवारी र युवराज खत्रीले समान १–१ विकेट लिए।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपाल ३१ ओभर १ बलमा १ सय ३० रनमा अलआउट भयो। नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। आशिष लुहारले २३, शाहिल पटेलले १८ र निरकुमारले १४ रन जोडे। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो। अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्नेछ।

एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् भने समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन्।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो पुस ६ गते हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्