काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७४ अङ्कले बढेर २ हजार ६ सय १ दशमलव ६१ बिन्दुमा पुगेको छ।
आज होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूह बाहेक सबै समूहका सूचकहरू सामान्य रूपमा बढेका छन्। कारोबार भएका २५९ कम्पनीमध्ये १ सय ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ। १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपाल कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। बजार समग्रमा बढेको दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर मूल्य भने करिब ७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ४ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २९ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ।






