काठमाडौं – काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार नेतृत्व चयनका लागि आवश्यक परे मतदान गर्ने तयारी गरिएको छ। आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिनेछ भने त्यसपछि दिउँसो १:३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली आज दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ। सो नामावलीमाथि उजुरी दिने समय दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ। उजुरीमाथि जाँचबुझलगायत प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
कार्यतालिकाअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ। यद्यपि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसकेको भए पनि शीर्ष तहमा सहमतिको प्रयास जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू अध्यक्षमा ओलीलाई निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन्।
भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भएको एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। बन्दसत्र सुरु हुनुअघि बसेको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनका केही निर्णय उल्ट्याएको थियो। बैठकले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी कुल १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको थियो।
केन्द्रीय कमिटीको एक तिहाइ सदस्यबाट पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइबाट स्थायी कमिटी गठन गरिने व्यवस्था गरिएको छ।






