काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजना शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले तोकिएको समयमै काम सम्पन्न गरी सडक आवागमन सहज बनाउने गरी अघि बढ्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो। उहाँले निर्माण क्रममा देखिएका समस्याको समाधानका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
आयोजनाको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत पुगेको छ। आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको यस खण्डमा ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ।
यस खण्डअन्तर्गत १२ मध्ये ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा निर्माणाधीन पुलको काम जारी रहेको छ।
मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड आगामी पुस १६ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित २०७८ साल जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।






