काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा मेयर रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। अख्तियारका अनुसार २०७९ जेठ ८ गतेदेखि २०७९ असार ३२ गतेसम्मको अवधिमा उनले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ ७१ पैसाको स्रोत नखुलेको पाइएको छ।
अख्तियारले सोही रकम बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ। यस मुद्दामा चालिसेकी श्रीमती मन्दिरा, छोराहरू सागर र सन्दीप तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित चालिसे प्रतिनिधिसभाको अर्थ समितिको सभापति समेत बनेका थिए।






