कर्णाली प्रदेश स्तरीय वन प्राविधिक कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुर्खेतमा सम्पन्न

सुर्खेत — खेलप्रेमीको प्रायोजन तथा प्रदेश वन निर्देशनालय, कर्णाली प्रदेशको आयोजनामा मंसिर २६ र २७ गते कर्णाली प्रदेश स्तरीय वन प्राविधिक कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुर्खेतमा सम्पन्न भएको छ। वन प्राविधिकहरूबीच आपसी एकता, भातृत्वभाव तथा टिम–बिल्डिङको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशबाट समेत सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा आएको टोलीले प्रतियोगितामा सक्रिय सहभागिता जनाएको थियो।

“स्वस्थ शरीर, दिगो वन : वन प्राविधिकहरूको पहिचान” नारासहित सञ्चालन गरिएको प्रतियोगिता चार समूहमा विभाजन गरी खेलाइएको थियो, जसमा जम्मा २४ टिम सहभागी थिए। प्रतियोगिताअन्तर्गत जुनियर, सिनियर, भेटेरान्स डबल्स तथा भेटेरान्स सिंगल्स विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको नतिजाअनुसार सिनियर डबल्सतर्फ प्रकाश देवकोटा र जगत भण्डारी प्रथम, जे.पी. बुढाथोकी र रोशन वली द्वितीय तथा नारायण देवकोटा–दिपेन्द्र श्रेष्ठ र सन्तोष वली–विमल चन्दको टिम तेस्रो भएका थिए। भेटेरान्स डबल्सतर्फ टेकबहादुर रावल र सन्त थापा प्रथम तथा प्रताप सिंह र बुद्धि चौधरी द्वितीय भए भने भेटेरान्स सिंगल्सतर्फ सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्ट विजयी भएका छन्। जुनियर डबल्सतर्फ भोला पुन र लिलाराज ढकाल प्रथम तथा लालिराम चौधरी र जगत बुढा द्वितीय भएका थिए।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश वन निर्देशक शेरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। आयोजकका अनुसार प्रतियोगिताले वन प्राविधिकहरूबीच आपसी सहकार्य, सौहार्दता तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्