सुर्खेत – नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले केही दिनअघि ओली र देउवा सत्ता उल्ट्याउने उद्देश्यले गोप्य बैठकमा बसेको दाबी गरे। उनले ओली र देउवाको दाम्पत्यले रगतबाट पनि शिक्षा नलिएको टिप्पणी गरे।
‘मलाई लागेको थियो उहाँको दाम्पत्यले रगतबाट शिक्षा लिनुहुनेछ, चेत फर्किनेछ,’ रावलले भने, ‘तर सुध्रेलान् भनेको त केही दिनअघि देउवा र ओली दाम्पत्य त पुरानै सत्ताको घृणित खेल खेल्न गोप्य बैठक पो गरेछन्।’
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ‘तोपले पनि सरकार ढल्दैन’ भन्ने दाबी गर्ने ओली हेलिकप्टर चढेर भाग्न बाध्य भएको टिप्पणी गरे। देउवाले आफ्नै निवासमा रगत बगेको घटनाबाट पनि पाठ नसिकेको उनको आरोप छ। नेता रावलले देउवाको काँध चढेर पहाड जस्तै बलियो सरकार बनाएको दम्भ देखाउने ओली सरकारलाई नवयुवाको एउटा आवाजले घुँडा टेकाएको दाबी गरे। ‘सुशासन देऊ, भ्रष्टाचारीलाई कारबाही गर भन्ने युवाको माग सम्बोधन गर्नुको साटो उल्टै उनीहरूमाथि दमन गरियो,’ उनले भने, ‘देशमा अशान्ति भयो, जनता असुरक्षित भए, त्यसपछि हेलिकप्टर चढेर भाग्ने ? यस्तै हुन् ठूला कुरा।’
ओलीले अझै आफू शक्तिशाली हुँ भन्न लाज मान्नुपर्ने अवस्था आएको रावलको भनाइ थियो। उनले सङ्कटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न समेत आग्रह गरे। सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेता रावलले कर्णाली राजमार्गको दयनीय अवस्था अझै सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। साथै कर्णालीका स्याउ, यार्सागुम्बा र जडीबुटीको उचित सदुपयोग र बजारीकरण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।






