नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह–२०८२: तानडोरी प्रतियोगिता सम्पन्न

काठमाडौँ — नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ अन्तर्गत तानडोरी प्रतियोगिता आज उत्साहपूर्ण र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ। छात्रतर्फको तानडोरी प्रतियोगितामा एलिगेण्ट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। ज्ञानभूमि स्कुल दोस्रो स्थानमा रहँदा ग्रीनफिल्ड स्कुल तृतीय स्थानमा रह्यो ।

त्यसैगरी छात्रातर्फको तानडोरी प्रतियोगितामा माइलस्टोन स्कुल विजेता बन्दै प्रथम स्थान हासिल गर्न सफल भयो। पिपुल्स एकेडेमीले दोस्रो स्थान प्राप्त गर्दा मिलन धर्मस्थली तृतीय स्थानमा रह्यो। आजको खेल भीमसेनगोला स्थित अमर आदर्श स्कुलमा भएको थियो।

फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार विधाका खेल समेटिएको खेलकुद सप्ताह मङ्सिर २२ गतेदेखि सुरु भएको हो। प्रतियोगिता आगामी पुस १ गते समापन समारोहका साथ सम्पन्न हुने नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले जनाएको छ।

नेशनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलका अनुसार खेलकुद सप्ताहमा १३९ भन्दा बढी विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुने व्यवस्था गरिएको छ।

विद्यालयस्तरका विद्यार्थीहरूमा खेल भावना, अनुशासन र सहकार्य विकास गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद सप्ताहले सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्