लुम्बिनी लायन्स एनपीएल क्रिकेटको च्याम्पियन, सुदूरपश्चिम लगातार दाेस्राे पटक उपविजेता

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका दिनेश अधिकारीले अविजित ४२ रनको उत्कृष्ट पारी खेले। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमै ८५ रनमा अलआउट भयो। टोलीका लागि ईशान पाण्डेले ५१ बलमा ३३ रन बनाउँदै सर्वाधिक योगदान दिए। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिकसहित महत्वपूर्ण विकेट लिए भने शेर मल्ल र रुबेन ट्रम्पेलमानले समान ३–३ विकेट लिए।

पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिँदै अंकतालिकाको पुछारमा रहेको लुम्बिनीले यस संस्करणमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्न सफल भयो। सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेतामै सीमित रह्यो। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

उपाधिसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्