नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटनको तयारी

काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन केहीबेरमा भक्तपुरको सल्लाघारीमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ। उद्घाटन समारोहमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको प्रतिकृतिको छेउमा विद्युतीय पाल राखिने र सोही पालालाई रिमोटमार्फत बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीक झल्काउने २०० भन्दा बढी कला, संस्कृति र पहिचान झल्कने झाँकीहरू प्रदर्शन गरिनेछ। महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको ऐतिहासिक चाँगुनारायण मन्दिरलाई मुख्य स्वरुपमा राख्दै उपत्यकाका विभिन्न महत्वपूर्ण मन्दिरहरू एकै स्थानमा देखिने गरी भव्य र कलात्मक मञ्च निर्माण गरिएको एमालेले जनाएको छ।

टाढासम्म रहेका सहभागीले वक्ताको भनाइ प्रस्ट देख्न सकून् भन्ने उद्देश्यले मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन राखिएका छन्। साथै तीन किलोमिटर टाढासम्म सुनिन सक्ने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ। मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार कलाकारहरूले मञ्चमै राष्ट्रिय एकताको भाव झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था मिलाइएको छ। ११औँ राष्ट्रिय महाधिवेशनका अवसरमा पार्टीका ११ वटा झण्डा राखिनेछन्। तीमध्ये १० वटा झण्डा सुरुमै फहराइने र एउटा झण्डा रिमोटमार्फत फहराउने तयारी गरिएको छ। महाधिवेशन उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि कोटेश्वरदेखि गठ्ठाघरसम्म गाडी प्रवेशको व्यवस्था गरिएको छ। गठ्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा काभ्रेतर्फबाट आउने सवारीका लागि जगातीको भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको एमालेले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्