नदी कटानबाट जोगिने प्रयास, नयाँबस्तीमा जैविक तटबन्ध निर्माण सुरु

प्रकाश भट्ट, कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थित नयाँबस्तीमा बन्द नदीको कटानबाट जोगिन जैविक तटबन्ध निर्माण कार्य शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। वर्षेनी बर्सातको समयमा नदी कटान, घरभित्र पानी पस्ने समस्या र विस्थापनको जोखिम बढ्दै गएको क्षेत्रमा करिब २०० मिटर लामो तटबन्ध निर्माण थालिएको हो।

 

तटबन्ध निर्माण नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले मर्सीकोर नेपालसँगको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत, कृष्णपुर नगरपालिका र वडा नम्बर-२ सँगको सहकार्यमा अघि बढाइएको हो। स्थानीय निलम कार्कीले विगतका वर्षहरूमा बन्द नदीको बाढी घरभित्रै पसेर डुबान र कटानका कारण बसोबास नै संकटमा परेको बताइन्। “वर्षात सुरु भएलगत्तै घरभित्र पानी पस्ने र कटान हुने समस्या थियो, अब तटबन्ध बनेपछि केही राहत मिल्ने आशा पलाएको छ,” उनले भनिन्।

बन्द नदी सामुदायिक विपद् व्यवस्थापन समिति नयाँबस्तीका अध्यक्ष शिव नेपालीले यस वर्षदेखि स्थानीयस्तरमै दिगो समाधानतर्फका काम सुरु भएको उल्लेख गर्दै जैविक तटबन्धले समुदायलाई ठूलो राहत दिने विश्वास व्यक्त गरे। कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुनसिंह साउदले नदी कटानका कारण बर्खायाममा धेरै परिवार जोखिममा बस्न बाध्य भएको बताए। “कतिपय परिवार त विस्थापित हुने अवस्थासम्म पुगेका थिए। जैविक तटबन्ध निर्माणपछि अब समुदाय सुरक्षित हुने अपेक्षा गरेका छौं,” उनले भने।

मर्सीकोर नेपालका सुदूरपश्चिम प्रदेश संयोजक नवीनचन्द्र जोशीले जैविक तटबन्धले समुदायलाई दिगो र सुरक्षित बसोबासतर्फ अघि बढाउने बताए। उनका अनुसार जैविक प्रविधिबाट तयार गरिने तटबन्ध वातावरणमैत्री, दीगो र लागत–अनुकूल हुने विशेषता राख्छ। यसैगरी समुदायका लागि जलवायु उत्थानशील परियोजना का संयोजक महेश घीमिरेले डाटा संकलन र स्थलगत अध्ययनपछि नयाँबस्ती क्षेत्रमा जैविक तटबन्ध अत्यावश्यक रहेको निष्कर्षमा पुगेर काम सुरु गरिएको बताए। “स्थानीयवासी जनश्रमदान गर्न तयार देखिएपछि परियोजना, वडा कार्यालय र समुदायको सहकार्यमा निर्माण कार्य अघि बढाइएको हो,” उनले स्पष्ट पारे।

जैविक तटबन्ध निर्माणले नयाँबस्तीका बासिन्दालाई बाढी र कटानको जोखिमबाट जोगाउँदै दिगो बसोबासतर्फ महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्